पाठ: ५ आत्मबोध (Self-Awareness)

आत्मबोधको अर्थ (Meaning of Self Awareness)

आफ्नो अन्तरात्मालाई आफैले चिन्न सक्नु आत्मबोध हो। अन्तरात्मा भनेको भित्री मन हो। भनिन्छ, अन्तरात्मामा ईश्वरको बास हुन्छ। अन्तरात्मालाई चिन्न सक्नु भनेको आफूले आफैलाई चिन्न सक्ने क्षमता हो। मानिसको मन दुई प्रकारका हुन्छन्। ती हुन्ः (क) चेतन मन र (ख) अवचेतन मन ।

चेतन भनेको भित्री मन हो। भित्री मन सधैं सत्यमा आधारित हुन्छ। चेतन मनले सही र गलत कुरा छुट्‌याउन सक्छ। हाम्रो बाहिरी मनलाई अवचेतन भनिन्छ। हामी जानेर वा नजानेर जे जति गल्ती गर्छौँ, त्यो अवचेतन मनको कार्य हो। गल्ती गरिसकेपछि हामीलाई थाहा हुन्छ कि, मैले राम्रो काम गरिनँ। यसरी आफ्नो गल्ती आफै स्वीकार गर्ने काममा भने चेतन मन प्रयोग भएको हुन्छ। चेतन मनले काम गर्नु भनेकै आत्मबोध हुनु हो।

प्रसिद्ध मनोवैज्ञानिक Baumeister का अनुसार, "अरूले आफूलाई कुन रूपमा लिएका छन् अर्थात् कुन रूपमा मूल्याङ्कन गरेका छन् ? आफ्ना कार्यप्रति अरूको धारणा के छ ? यस्ता कुराको मूल्याङ्कन गर्नु नै आत्मबोध हो ।" (Anticipating how others perceive you, evaluating yourself and your actions according to collective beliefs and values and caring about how others evaluate you.)

त्यसैले आफूले आफैलाई चिन्न सक्नु आत्मबोध हो। आत्मबोध हुनु भनेकै भित्री मनलाई चिन्न सक्नु हो। यसलाई चेतन मन भनिन्छ। चेतन मन सधैं सत्यमा आधारित हुन्छ। आफूभित्र भएको सत्यलाई चिन्न सकियो भने जानेर हामीबाट कुनै गल्ती हुँदैन। आत्मबोध भएको व्यक्तिमा घमण्ड, रिस, डाहा, घृणाजस्ता नकारात्मक भावना जागृत हुन पाउँदैन । यस्ता खालका नकारात्मक भावहरू उत्पन्न भए पनि आत्मबोधले त्यसलाई नियन्त्रण गर्न सक्छ। त्यसैले आत्मबोध भनेको ब्रह्म ज्ञान हो, जुन अन्तरात्मासँग सम्बन्धित हुन्छ।

सामान्यतया आत्मबोध भन्नाले आफैप्रतिको सचेतना हो । व्यक्तिको आफ्नो मूल्यमान्यता, बलिया पक्ष कमजोर पक्ष आनीबानी आदिको गहिरो बुझाइ नै आत्मबोध हो। त्यसैले आत्मबोध भन्नाले आफैमा ध्यान दिई आफ्ना विचार, भावना तथा कार्यहरू आफ्ना आन्तरिक मूल्यमान्यताहरूसँग मिल्दा छन् कि छैनन् मूल्याङ्कन गर्नु हो ।

आत्मबोधका प्रकार (Types of Self Awareness)

क. आन्तरिक आत्मबोध: आफ्ना मूल्यमान्यता तथा इच्छा आका‌क्षाहरू समाज र वातावरणमा ठिक छन् कि छैनन् भनि मूल्याङ्कन गरी आवश्यकताअनुसार परिवर्तनका साथ् समायोजन गर्नु नै आन्तरिक आत्मबोध हो।

ख. बाह्य आत्मबोधः बाह्य आत्मबोध भन्नाले अरु मानिसले आफूलाई कस्तो रूपमा हेर्छन् भनी जान्नु हो। यस्तो सिप भएका व्यक्तिहरुले सहकर्मी तथा तल्ला तहका कर्मचारीहरूसँग धेरै राम्रो सम्बन्ध राख्छन् ।

आत्मबोधको विशेषता तथा महत्त्व

आफूले आफैलाई चिन्न सक्नु आत्मबोध हो। आफूले आफैलाई चिन्नु भनेको आफ्नो भित्री मनलाई चिन्न सक्नु हो। भित्री मन सधैं सत्यमा आधारित हुन्छ। त्यसैले भित्री मनले सधैं सत्यको पक्षमा निर्णय गर्दछ। आत्मबोधले सधैं आफूभित्र भएका गल्ती कमजोरीलाई हटाएर सत्य र न्यायको पक्षमा अगाडि बढ्न प्रेरित गर्छ।

आत्मबोधको विशेषता तथा महत्त्वलाई निम्नानुसारका बुँदामार्फत बुभन सकिन्छ :

(क) आत्मबोधको ज्ञानले आफ्नो भित्री मनसँग परिचित गराउँछ।

(ख) यसले सही र गलत कार्य छुट्याउन सक्ने क्षमताको वृद्धि गराउँछ।

(ग) कुनै काम गर्नुभन्दा अगाडि म यो काम किन र कसका लागि गर्दै छु भन्ने कुरा सोच्न वाध्य गराउँछ।

(घ) आत्मबोधले अवचेतन मनभित्र लुकेर बसेका घमण्ड, रिस, डाहा जस्ता खराव आदत हटाउने कार्यमा सहयोग गर्छ।

(ङ) यसले मानवीय सम्बन्ध र सहयोगी भावनाको वृद्धि गराउँछ।

च) सामाजिक समस्या तथा विकृति नियन्त्रण गर्ने कार्यमा सहयोग पुग्छ।

(छ) आत्मबोधले व्यक्तिलाई अमानवीय तथा कुनै पनि खराब कार्य हुनबाट बचाउँछ।

(ज) यसले आफूभित्र भएका सकारात्मक बानीलाई निरन्तरता दिँदै नकारात्मक बानी हट्टाउन प्रेरणा प्रदान गर्दछ।

(झ) आत्मबोधबाट प्रेरित कार्यले मनमा सन्तोष, खुसी र आनन्द दिलाउँछ।

(ञ) यसले कुनै पनि समस्याको समाधानमा थप ऊर्जा प्रदान गर्दछ।

() अरूप्रति हेर्ने दृष्टिकोण सधैं सकारात्मक रहन्छ।

(ठ) आत्मबोधले आफ्नो व्यक्तिगत स्वास्थ्य, पढाइ र भविष्य निर्धारणमासमेत सहयोग पुऱ्याउँछ।

आत्मबोध प्राप्त गर्ने तरिका (आत्मबोधको अभ्यास गर्ने तरिका) (Consideration and Techniques of Self Awareness)

आफ्नो भित्री मनलाई चिनेर सत्यको बाटोमा अगाडि बढ्ने कार्यलाई आत्मबोध भनिन्छ। आत्मबोधले सत्य र न्यायको वाटोमा हिँड्ने प्रेरणा दिन्छ। यसका लागि व्यक्तिले आत्मबोधको अभ्यास गर्नुपर्छ। आत्मबोध प्राप्त गर्ने तरिकालाई तलको तालिकामा सूचीकृत गरिएको छ :

आत्मबोध प्राप्त गर्ने तरिका

(क) अनुशासनको पालना गर्ने:

अनुशासन व्यक्तिको सबैभन्दा मूल्यवान् गहना हो। घर, विद्यालय तथा समाजका अनुशासनहरू के के हुन् ? तिनको बारेमा हामीलाई राम्रोसँग जानकारी हुनुपर्छ। आफूलाई थाहा भएका अनुशासनको पालना गर्ने हो भने आत्मबोध प्राप्त गर्न सकिन्छ।

(ख) असल व्यक्तिको सङ्गत गर्ने:

भिंगाको सङ्गत गर्यो भने फोहोरमा पुऱ्याउँछ। मौरीको सङ्गत गर्यो भने फूलको रस चखाउँछ। त्यसैले सकेसम्म असल आचरण भएका व्यक्तिसँग सङ्गत गर्नुपर्छ।

(ग) आफ्नो बोली व्यवहारलाई अवलोकन गर्ने

कतै मैले फोहोरी शब्द त बोलिरहेको छैन ? कतै मेरो बोली र व्यवहारले गर्दा अरूलाई असर त परिरहेको छैन ? यसबारेमा आफू सधैं सचेत रहनुपर्छ।

(घ) परिणामको बारेमा सोच्ने

आवेगमा आएर हामीले कुनै खराब कार्य गयौं भने त्यसको परिणाम डरलाग्दो हुन्छ। त्यसैले आफूलाई गलत लागेको कार्य गर्नुभन्दा अगाडि परिणामको बारेमा सोच्नुपर्छ।

(ङ) रचनात्मक कार्यमा व्यस्त रहने

फुर्सदको समयमा खेलकुद, साहित्य, सङ्गीत, कलाकारिता आदि क्षेत्रमा आफूलाई व्यस्त राख्नुपर्छ। व्यस्त जीवनको अभ्यासले व्यक्ति आफैं आत्मबोधको अनुभव गर्ने स्थितिमा पुग्छ।

(च) सत्य र न्यायको पक्षमा आवाज उठाउने

कसैलाई अन्याय भइरहेको देखेर पनि नदेखेझै गर्नु भनेको आफैं पनि दोषीको भागेदार हुनु हो। त्यसैले आफू सधैं सत्य र न्यायको पक्षम आवाज उठाउन तयार रहनुपर्छ।

(छ) सहयोगी कार्यमा सहभागी बन्ने

भोकमरी, आगलागी, बाढीपहिरो, शीतलहर, भूकम्प आदि प्रकोपमा परेका पीडितलाई आफूले सकेको सहयोग गर्ने बानी बसाल्नुपर्छ।

(ज) योग तथा ध्यान गर्ने

योग तथा ध्यान गर्ने अभ्यासले पनि आत्मबोधको अनुभव गर्न सकिन्छ। त्यसैले बिहानको समयमा दिनहुँ योग तथा ध्यान गर्नुपर्छ।

आत्ममूल्याङ्‌‌कन (Self-evaluation)

आत्ममूल्या‌ङ्कनको अर्थ (Meaning of Self-evaluation)

आत्ममूल्याङ्कन भनेको आफूले आफैलाई परीक्षण गर्नु हो। आत्ममूल्याङ्कन भावनात्मक कुरा हो। यो बानी व्यवहारसँग सम्बन्धित छ । त्यसैले आफ्नो मूल्याङ्कन ऐना हेरेर गर्न सकिँदैन । ऐनाले हाम्रो बाहिरी आवरणलाई मात्र देखाउँछ । आत्ममूल्या‌ङ्कन बुझ्नको लागि अन्तरज्ञानको आवश्यकता पर्दछ । आत्ममूल्याङ्कनले व्यक्तिको बानी व्यवहारलाई प्रदर्शन गर्दछ। आफूले आफैलाई मूल्या‌ङ्कन गर्न गाह्रो पर्छ। आफूलाई त आफ्ना बानी व्यवहार राम्रो जस्तो लाग्छ। फेरि हिजोआज व्यक्तिगत स्वतन्त्रताको कुरा आउँछ। "म जे छु ठिकै छु' भन्ने अर्थमा हेर्ने हो भने आत्ममूल्याङ्कनको कुनै अर्थ पनि हुँदैन । त्यसैले आत्ममूल्याङ्कनको लागि अरूको विचारलाई बुझ्नुपर्छ। आफ्ना अगाडि त अरूले राम्रै विचार व्यक्त गर्लान् । तर तिनै व्यक्ति- अरूसँग आफ्नो बारेमा कुरा काट्दै हिँडे भने आफ्ना अगाडि राम्रो विचार व्यक्त गरेको कुनै अर्थ भएन । यसका लागि आफ्नो कामलाई अरूले कसरी मूल्याङ्कन गरेका छन् ? त्यो पनि बुझ्नुपर्छ। त्यसैले आत्ममूल्याङ्कन अरूबाट प्राप्त भएको प्रतिक्रिया हो भनेर बुझ्न सकिन्छ। यसको अर्थ आफूलाई आफ्नो बारेमा केही थाहा हुँदैन भन्ने होइन। जति आफूले आफ्नो बारेमा बुझिएको हुन्छ, त्योभन्दा बढी अरूबाट बुझ्न सकिन्छ।

समान्यतया आत्ममूल्याङ्कन भन्नाले व्यक्तिले आफ्नै बारेमा गर्ने मूल्याङ्कन तथा लेखाजोखा हो। व्यक्तिले आफ्ना व्यक्तिगत कार्य र तिनको परिणामलाई व्यवस्थित रूपले अवलोकन र विश्लेषण गरी तिनलाई मूल्य दिने प्रक्रिया नै आत्ममूल्याङ्कन हो। यो व्यक्तिका लागि आफ्ना कर्माकमजोरी थाहा पाउने तथा तिनलाई सुधार गर्ने महत्त्वपूर्ण अवसर हो साथै समाज वा विश्वले आफूलाई मूल्याङ्कन गर्नु अगावै आफैले आफ्नो मूल्याङ्कन गर्ने कार्य हो ।

आत्ममूल्या‌ङ्कनको महत्त्व तथा फाइदा (Importance or Advantages of Self Criticism)

*     यसले व्यक्ति तथा संस्थाको लक्ष्य प्राप्त गर्न सहयोग गर्दछ ।

*     व्यक्तिले आफ्नो मूल्याङ्कन आफैँ गर्ने सिपको विकास गराउँछ ।

*     यसले व्यक्तिलाई उच्च मनोबलका साथ कार्य गराउन सहयोग गर्दछ ।

*     व्यक्तिको कार्यदक्षतामा सुधार तथा वृद्धि गराउँछ ।

*     संस्थाका कर्मचारीबिच एकआपसबाट सिक्ने बानीको विकास गराउँछ ।

*     सामूहिक कार्यप्रति उत्प्रेरणा जगाउँछ ।

*     व्यक्ति आफैले नयाँ विधि तथा प्रविधिको खोजी गरी प्रयोग गर्न सघाउँछ ।

*     व्यक्तिलाई कामप्रति उत्साहित हुन सहयोग गर्दछ ।

*     व्यक्तिलाई आफ्नो क्षमताप्रति आत्मविश्वासी बनाउँछ ।

आत्ममूल्याङ‌कन प्राप्त गर्ने तरिका (आत्मामूल्याङ्‌कनको अभ्यास) (Ways and Practice of Self Criticism)

आफ्नो मूल्याङ्कन आफैँ गर्ने विभिन्न तरिकाहरू छन्। तीमध्ये केही प्रमुख तरिकालाई याहा उल्लेख गरिएको छ :

आत्म मूल्याङ्कन गर्ने तरिका

(क) आफ्ना बानी व्यवहारलाई अवलोकन गर्ने:

म असल काम गर्दै छु वा खराब ? मेरो बानी व्यवहार अरूलाई मन पर्छ वा पर्दैन ? यो कुराको जानकारीप्रति व्यक्ति आफै सचेत बन्नुपर्छ । आफैले आफ्ना खराब बानी पहिचान गरी त्यसलाई त्याग्न सक्नुपर्छ।

(ख) परिवारका सदस्यको कुरा सुन्ने:

आफ्नो बानी व्यवहारको बारेमा अरू कसैले नभने पनि परिवारका सदस्यले पक्कै सत्य कुरा भन्ने छन्। परिवारका सदस्यको प्रतिक्रिया सुनेर आत्ममूल्याङ्कन गर्न सकिन्छ । परिवारका सदस्यले आफूलाई "यो-यो बानी सुधार गर्नुपर्छ' भन्ने सल्लाह पनि दिएका हुन्छन् । यस्ता सुझावलाई आत्मसात गरी आफ्नो बानी व्यवहारमा परिवर्तन ल्याउनुपर्छ।

(ग) साथी समूहको प्रतिकृया बुझ्ने:

आफ्नो बानी व्यवहारलाई साथीभाइले रुचाए-नरुचाएको कुरा आफैले अनुभव गर्न सकिन्छ। साथीभाइको प्रतिक्रिया, हाउभाउ तथा आफूप्रति गर्ने व्यवहार हेरेर आफ्नो बारेमा जानकारी राख्न सकिन्छ।

(घ) सामाजिक सञ्जालको प्रतिक्रिया हेर्ने:

हामीले हाम्रो सिर्जनालाई सामाजिक सञ्जालमा राखेका हुन सक्छौं । अरूको कुनै भिडियो Share गरेका हुन सक्छौं। आफ्नो विचार व्यक्त गरेका हुन सक्छौं। त्यस्ता कार्यमा आएको Comments, Likes, Views हेरेर पनि हामी आत्ममूल्या‌ङ्कन गर्न सकिन्छ।

(ङ) परीक्षाको नतिजा हेर्ने:

परीक्षाले हामीभित्र भएको ज्ञानलाई मूल्याङ्कन गर्दछ। विभिन्न प्रकारका परीक्षाको नतिजा हेरेर आफ्नो क्षमतालाई जाँच गर्न सकिन्छ। यसलाई पनि आत्ममूल्याङ्कन गर्ने एउटा महत्त्वपूर्ण आधार मान्न सकिन्छ।

छोटकरीमा आत्ममूल्याड्‌कनको तरिका र प्रयोग

*     साथीभाइ तथा अग्रज व्यक्तित्वहरूसँग आफ्नाचारे कुराकानी गरिरहने,

*     आफ्नो पेसागत विकासबारे चिन्तन गरिरहने,

*     अरूहरूले आफ्ना बारेमा गरेका टिप्पणीहरू शान्तपूर्वक सुन्ने,

*     आफ्ना कमीकमजोरीप्रति सधैं सजग भई सत्य पत्ता लगाउन प्रयत्न गर्ने,

*     आफ्ना असफलताहरू भए त्यसलाई सिकाइका रूपमा लिने र त्यसप्रति बढी चिन्ता नगर्ने,

*     आफ्ना कमीकमजोरी अरूले बताउनुभन्दा पहिले नै आफैले पत्ता लगाई सुधार गर्ने,

*     आफ्ना उपलब्धिहरूको अभिलेख राख्ने,

*     आफ्ना कमीकमजोरीहरूको बारेमा सहकर्मी तथा अग्रज व्यक्तिहरूसँग छलफल गर्ने,

*     व्यक्तिगत मूल्याङ्कन प्रणालीको विकास गर्ने ।

आत्ममूल्याङ्‌कले व्यक्तित्व विकासमा सहयोग पुऱ्याउँछ

आफूले आफैलाई चिन्न सक्नु आत्ममूल्या‌ङ्कन हो । आत्ममूल्याङ्कन गर्ने सिपले व्यक्तिलाई आफ्नो आत्मासँग परिचित गराउँछ। यसको अभ्यासले आफ्नो आनीबानीको मूल्याङ्कन गर्ने अवसर मिल्छ। अरूले आफ्नो बारेमा के कुरा गर्दै आएका छन् । त्यसको जानकारी हुन्छ । सामाजिक सञ्जालमा भेटिएमा टिकाटिप्पणी हेरेर पनि आफ्नो बारेमा जानकारी हुन्छ। "आफ्नो बारेमा अरूले जे सुकै भनुन्" भनेर मतलब गरिएन भने त्यो आत्ममूल्या‌ङ्कन हुँदैन

आत्ममूल्याङ्कनको लागि त आफूसँग भएका राम्रा र नराम्रा कुराको समीक्षा गर्न सक्नुपर्छ। आफूसँग भएका राम्रा पक्षलाई निरन्तरता दिनुपर्छ। त्यसैगरी आफ्नो बारेमा आफूले थाहा पाएका कमी कमजोरी हटाउँन लानुपर्छ। आत्ममूल्याङ्कको अभ्यासबाट हाम्रो व्यक्तित्व विकासमा थप टेवा पुग्ने छ। जस्तैः

(क) आत्ममूल्याङ्कनबाट प्राप्त ज्ञानले व्यक्तिलाई अनुशासित बनाउँछ।

(ख) यसको अभ्यासले आफूभित्र भएका कमीकमजोरी हटाउँन मदत मिल्छ ।

(ग) यसले रिस, डाह, ईर्ष्या, घमण्ड, अनावश्यक उत्तेजना आदि नकारात्मक संवेगलाई नियन्त्रण गराउँछ।

(घ) आत्ममूल्याङ्कनले व्यक्तिलाई अरूको कुरा सुन्ने र अरूको भावना बुझ्ने सिप सिकाउँछ ।

(ङ) यसले व्यक्तिलाई सिर्जनात्मक, सहयोगी र लोकतान्त्रिक आचरण भएको योग्य नागरिक बन्न मदत गर्दछ। त्यसैले आत्ममूल्याङ्कनको अभ्यासले व्यक्तिको व्यक्तित्व विकासमा सहयोग पुऱ्याउँछ।