पाठ ४ समानुभूति (Empathy)

समानुभूतिको अर्थ (Meaning of Empathy)

समानुभूति शब्द सम (बराबर) र अनुभूति (अनुभव वा महसुस) दुई शब्द मिलेर बनेको हो त्यसैले यसको अर्थ अरुले भोगिरहेका संवेगात्मक अनुभवलाई पहिचान गर्ने, चुम्ने र सो महसुस गरी आफूले पनि त्यस्तै संवेगात्मक अनुभव वा अनुभूति गर्ने क्षमता भन्ने बुझिन्छ। यो अरुको भावना या संवेगलाई बुभने क्षमता हो त्यसैले अरुको दुःखलाई आफ्नै भनि ठानेर व्यवहार गर्नु समानुभूति हो। जस्तैः अरूको दुःख देखेर आफू पनि रुनु, मन परेको खेलाडीले गोल गर्दा उत्तेजित हुनु, मन परेको कलाकारलाई दुःख पर्दा भावुक हुनु, चलचित्रमा देखिएका दृश्यबाट प्रभावित हुनु, आदि समानुभूत्ति हो ।

आपत विपतमा परेका व्यक्तिलाई सहयोग गर्नु नै समानुभूतिको अभ्यास हो। रगत सबैको रातो हुन्छ । चित्त दुख्दा सबैको आँखाबाट उस्तै खालको आँसु आउँछ । खुसी हुँदा सबैको मन पुतली झै रमाउँछ। आखिर किन भिन्नता छ, मानिस मानिसमा ? किन भेदभाव विद्यमान छ, मानवीय समाजमा ? दुःख जसलाई पनि पर्न सक्छ। हामीले COVID-19 को महामारी भोगेका छौं। युद्धका घटनाहरू देखेका छौं। भूकम्प र बाढीपहिरोको समस्या भोगेका छौं। सङ्कटका यस्ता घडीमा जोसुकै व्यक्ति पनि पीडित बन्न सक्छ। अरूको पीडारूपी घाउमा मलमपट्टी गर्नु मानवीय धर्म हो। अरूको भावनालाई सम्मान गर्न सक्नु हाम्रो महानता हो। यिनै कार्यलाई हामी समानुभूतिको अभ्यास भनेर बुझ्न सक्छौं।

समानुभूतिका मुख्य तत्त्व (Elements of Empathy)

अमेरिकी विद्वान् Daniel Goleman का अनुसार समानुभूतिका मूल तत्त्वहरू ५ ओटा रहेका छन् जसलाई निम्नानुसारको तालिकामार्फत बुझ्न सकिन्छ :

(क) अरूलाई बुझ्ने:

समानुभूतिको मूल तत्त्व भनेको अरूको भावनालाई बुझ्नु हो। अरुको दुःख, पीडा र समस्या बुझ्नु नै समानुभूतिको मूल उद्देश्य हो।

(ख) अरूको विकासमा सहयोग गर्ने:

समाजमा पछि परेका जाति, वर्ग, लिङ्ग, समुदाय र दुर्गम क्षेत्रका मानिसको विकासमा जुट्नुपर्छ । यस्ता कार्यमा व्यक्ति, सङ्घसंस्था तथा सरकारको समेत सहभागिता रहनुपर्छ।

(ग) सेवा प्रदान गर्ने:

पीडित व्यक्तिको समस्या बुझेर सहयोग गर्नु समानुभूतिको अर्को महत्त्वपूर्ण तत्त्व हो । जस्तैः प्राकृतिक प्रकोप, दुर्घटना, युद्ध, गरिबी, रोगको महामारी आदिको चपेटामा परेका व्यक्तिलाई सहयोग गर्नु समानुभूतिको मूल तत्त्व हो।

(घ) विविधताको विषयमा आवाज उठाउने:

समाजमा फरक जाति, धर्म, पेसा, वर्ग, लिङ्ग, शारीरिक अवस्था भएका मानिसको बसोबास हुन्छ। सबै देशवासीले समान अधिकार र अवसर पाउनुपर्छ भनेर आवाज उठाउनु समानुभूतिको अर्को महत्त्वपूर्ण तत्त्व हो।

(ङ) राजनीतिक सचेतना जगाउने:

समाजमा पछि परेका समुदायलाई राज्यले विभिन्न थप अधिकार र अवसर प्रदान गरेको हुन्छ। चेतनाको अभावमा पीडित वर्गलाई यस्ता अधिकारको बारेमा जानकारी नै हुँदैन । त्यसकारण राज्यको पहुँचबाट टाढा रहेका व्यक्तिलाई राजनीतिक चेतना जगाउनु पनि समानुभूतिको अर्को महत्त्वपूर्ण तत्त्व मानिन्छ।

समानुभूतिका किसिम/प्रकार (Types of Empathy)

विभिन्न तरिकाले अरूको भावनालाई बुझ्न सकिन्छ । जस्तैः आफ्नो ज्ञान तथा विवेक प्रयोग गरेर अरूको दुःख बुझ्न सकिन्छ । त्यसैगरी अरूको अनुहार तथा अवस्था हेरेर, सहयोगी बनेर, घाउचोट देखेर तथा धार्मिक भावना प्रयोग गरेर समानुभूतिलाई बुझ्न सकिन्छ । अरूको दुःख पीडा बुझ्ने तरिकालाई समानुभूतिका प्रकार भनिन्छ। जसलाई निम्न अनुसार प्रस्तुत गरिएको छ :

क. संज्ञानात्मक समानुभूति (cognitive empathy): आफूलाई अरूको ठाउँमा राखी उनीहरूको दृष्टिकोणबाट समस्या वा अवस्थालाई हेर्नु संज्ञानात्मक समानुभूति हो। कसैको अनुहार हेरेर ऊ दुःखी छ कि खुसी छ भनी थाहा पाउनु यस्तो सिप हो ।

ख. संवेगात्मक समानुभूति (emotional empathy): अरुको संवेगात्मक अनुभव देखेर आफू पनि त्यस्तै अनुभूति गर्ने सिप संवेगात्मक समानुभूति हो। जस्तैः सिनेमामा कुनै पात्रले दुःख पाएको देखेर रुनु वा हिरोले भिलेनलाई पिट्दा ताली बजाउनु ।

ग. दयालु समानुभूति (compassionate empathy): अरुको संवेगात्मक अनुभूति आफूले पनि अनुभव गरेर त्यस अनुभवमा आवश्यकताअनुसार सहयोग गर्ने सिप दयालु समानुभूति हो। अर्काको भावनालाई बुझ्ने मात्र नभई सहयोग पनि गर्नु हो । जस्तैः कुनै स्थानमा बाढी वा पहिरो जाँदा अरू स्थानका मानिसहरूले दुःख अनुभव गरी त्यस स्थानका मानिसहरूलाई सहयोग गर्नु ।

घ. आध्यात्मिक समानुभूती (Spiritual Empathy): आध्यात्मिक अनुभूति भनेको धार्मिक विचारबाट प्रभावित हुनु हो । सबै धर्मले ‘दान कार्यमा विश्वास राखेको देखिन्छ । दान तथा भिक्षाको कार्य पिडित पक्षमाथि लक्षित हुनुपर्छ ।

समानुभूतिका फाइदा (Advantages of Empathy)

*     यस्तो सिप भए‌को व्यक्ति मिलनसार हुने भए‌काले साथीहरूबिचमा तथा समाजमा सबैको प्रिय हुन्छन।

*     यस्तो सिपले गर्दा कार्यस्थलमा श्रमिक र व्यवस्थापन दुवैको कार्य प्रभावकारी रूपमा सम्पादन गर्न सहयोग गर्छ ।

*     परिवारका सदस्यहरूबिचमा यस्तो सिपले राम्रो सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ ।

*     यस सिपले दम्पतीको वैवाहिक जीवनलाई प्रगाढ़ सुखी र सफल बनाउन सहयोग गर्दछ ।

*     आमाबाबुलाई सन्तान हुर्काउने क्रममा आइपर्ने चुनौतीलाई सामना गर्न सक्षम तुल्याउँछ ।

*     व्यक्तिलाई समयसापेक्ष गतिशील वातावरणअनुसार परिवर्तनशील र घुलमिल हुन सिकाउँछ ।

*     व्यक्तिको जीवनलाई सार्थक र सफल बनाउन सहमेत गर्दछ ।

समानुभूति सिप विकासका अभ्यास र उपायहरू (Practice and Techniques of Developing Empathy)

अरूको भावना बुझेर सहयोग गर्ने क्षमतालाई समानुभूतिको सिप भनिन्छ। सबै मानिसमा समानुभूतिको सिप विकसित भएको पाइँदैन । जीवनोपयोगी सिपले समानुभूतिको विकास तथा अभ्यासलाई विशेष जोड दिएको छ। व्यक्तिमा समानुभूतिको सिप विकास गर्ने हो भने संसार कति सुन्दर बन्थ्यो होला । समानुभूतिको सिप विकासका निम्न प्रकारका उपायहरु अपनाउन सकिन्छ:

*     मानिसहरूबिच हुने फरकका बारेमा अनुभव गर्ने ।

*     अन्य व्यक्तिहरूका बारेमा उत्सुक रहने ।

*     अरू व्यक्तिका विचार, चासो, संस्कृतिबारे जानकारी राख्ने ।

*     नयाँ नयाँ मानिसहरूसँग अन्तरक्रिया गर्ने ।

*     नयाँ नयाँ ठाउँ भ्रमण गर्ने ।

*     आफ्ना बानी व्यवहारबारे परिवार, साथी तथा सहकर्मीहरूबाट पृष्ठपोषण लिइरहने र सोअनुसार आफूलाई परिवर्तन गर्ने ।

*     आफूलाई अन्य व्यक्तिहरूको स्थानमा राखेर अनुभूति गर्ने ।

*     कुराकानी गर्दा अरूलाई सम्मान गर्ने ।

*     अरुका कुरा सुन्ने र सम्मानपूर्वक आफ्ना विवार सुझाव आदि राख्ने ।

*     विभिन्न लेख, रचना, कथा, उपन्यास, समाचार तथा साहित्यहरू पढ्ने बानी बसाल्ने ।

 

संवेगात्मक समानुभूति र दयालु समानुभूतिबिचको फरक

अरूको दुःख पीडा र खुसीलाई आफ्नैझै ठान्ने भावनालाई समानुभूति भनिन्छ। त्यसैले समानुभूतिलाई दुःख सुख बाँड्ने माध्यम ठानिन्छ। समानुभूतिलाई मुख्य गरी चार प्रकारमा विभाजन गरिएको छ। ती हुन्ः (क) संज्ञानी समानुभूति (ख) संवेगात्मक समानुभूति (ग) दयालु समानुभूति (घ) आध्यात्मिक समानुभूति ।

तलको तालिकामा संवेगात्मक तथा दयालु समानुभूतिबिचको भिन्नतालाई प्रस्तुत गरिएको छ :

 

संवेगात्मक समानुभूति (Emotional Empathy)

दयालु समानुभूति (Compassionate Empathy)

 

(क)

 

अरूको दुःख, पीडा र सुखीलाई आफ्नै झै ठान्नु संवेगात्मक समानुभूति हो।

 

अरूको दुःख र पीडा बुझेर सहयोग गर्नु दयालु समानुभूति हो।

 

(ख)

 

संवेगात्मक समानुभूतिमा भावनात्मक रूपले सहयोग व्यक्त गरिन्छ।

 

दयालु समानुभूतिमा व्यवहारिक रूपले सहयोग गरिन्छ।

 

(ग)

 

संवेगात्मक समानुभूतिले पीडित व्यक्तिलाई प्रत्यक्ष रूपले फाइदा पुग्दैन। जस्तैः आफूले समर्थन गरेको टिमले खेल जित्दा खुसीले उफ्रिनु, खेल हार्दा दुःख मान्नु आदि संवेगात्मक समानुभूतिका उदाहरण हुन्।

 

दयालु समानुभूतिले पीडित व्यक्तिलाई प्रत्यक्ष रूपले फाइदा पुग्छ। जस्तैः बाढी पीडितलाई कपडा तथा नगद सहयोग गर्ने, घाइतेको उपचारमा सहयोग पुऱ्याउने, भिखारीलाई दान दिने आदि कार्य दयालु समानुभूतिका उदाहरण हुन्।