पाठ ६ सामाजिक तथ्या‌ङ्क र सूचना स‌ङ्कलनका विधि र साधनहरू (Methods and Tools of Social Data and Information Collection)

सामाजिक तथ्याङ्‌क (Social Data)

आर्थिक, जनसा‌ङ्ख्यिक, व्यक्तिगत, पारिवारिक, भाषिक, धार्मिक, पेसागत आदिसँग सम्बन्धित कुराहरू सामाजिक तथ्याङ्कहरू हुन् । सामाजिक तथ्याङ्क परिमाणात्मक (परिवारको आम्दानी, खर्च, जनसङ्ख्या, उमेर आदि) र गुणात्मक (आर्थिक अवस्था धनी वा गरिब, विचार, धर्म, परम्परा आदि) दुवै प्रकारका हुन्छन् ।

सामाजिक तथ्याङ्क स‌ङ्कलन विधि (Social Data Collection Method)

तथ्याङ्क सङ्कलन कार्य अनुसन्धानको प्रमुख हिस्सा हो र यो एक महत्त्वपूर्ण चरण पनि हो। अनुसन्धानका प्रश्नहरूको समाधान गर्नका लागि सान्दर्भिक विशिष्ट जानकारी प्राप्त गर्ने एक व्यवस्थित प्रक्रिया तथ्याङ्क सङ्कलन हो। तथ्या‌ङ्क सङ्कलन गर्नुपूर्व कस्तो, कसरी, कसले र कहिले तथ्याङ्क सङ्कलन गर्ने हो सो कुरा निश्चित गर्नुपर्छ। यी कुराहरूलाई व्यवस्थित गर्न निश्चित विधिहरूको प्रयोग गरिन्छ ।

सामाजिक तथ्या‌ङ्क स‌ङ्कलनका साधन (Tools of Social Data)

सामाजिक तथ्याङ्क सङ्कलन गर्न प्रयोग गरिने प्रश्नावली, अवलोकन, अन्तर्वार्ता जस्ता उपकरणहरूलाई तथ्याङ्क सङ्‌कलनका साधनहरू भनिन्छ ।

क. प्रश्नावली (Questionnaire)

यो परिमाणात्मक तथ्याङ्क स‌ङ्कलनमा प्रयोग गरिने विधि साधन हो जुन प्रश्नहरूको सामूहिक रूप हो। सामाजिक अनुसन्धानका क्रममा तयार पारिएको विभिन्न प्रकारका सूचीबद्ध प्रश्नहरूलाई उत्तरदातासमक्ष पुऱ्याई आवश्यक सूचनाको सङ्कलन गरिने तरिकालाई प्रश्नावली भनिन्छ । प्रश्नावली प्रयोग गरी धेरै व्यक्तिहरूबाट कम समय र स्रोत तथा साधन प्रयोग गरी तथ्याङ्क स‌ङ्कलन गर्न सकिने हुनाले यसलाई सबैभन्दा प्रचलित तथ्याङ्क सङ्कलन साधन मानिन्छ। यो लेखपढ गर्न सक्ने मानिसहरूमा प्रयोग गरिने साधन हो ।

ख. अन्तर्वार्ता (Interview)

लक्षित प्रश्नहरूको उत्तर प्राप्त गर्न उत्तरदाता र अन्तर्वार्ताकारबिच दोहोरो व्यवस्थित वार्तालाप नै अन्तर्वार्ता हो। यो एउटा अन्तक्रियात्मक प्रक्रिया हो। यसबाट गुणात्मक तिथ्याङ्क सङ्कलन गर्न सकिन्छ ।

ग. अवलोकन (Observation)

सामाजिक अनुसन्धानमा अनुसन्धानकर्ताले सामाजिक घटनाका बारेमा कार्यकारण प्रभाव बुझ्न, विभिन्न विषयवस्तुहरूको सम्बन्धलाई विश्लेषण गर्न स्वयम् अनुसन्धानकर्ता कार्यक्षेत्रमा गएर निरीक्षण गरिने विधिलाई अवलोकन भनिन्छ । यसबाट घटनाको वास्तविक र प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

घ. रुजुसूची (Checklist)

यसमा आवश्यक सूचनाहरूबारे हो वा होइन तथा छ या छैन तथा अन्य विभिन्न विकल्पहरू पहिले नै तयार गरेर अवलोकन गरिन्छ ।

द्वितीय तथ्या‌ङ्क सङ्कलन (Secondary Data Collection)

अरू कसैले पहिले सङ्‌कलन गरेका प्रकाशित तथा अप्रकाशित तथ्या‌ङ्कहरूलाई द्वितीय तथ्याङ्क भनिन्छ जसले पत्रपत्रिका, प्रतिवेदन, इन्टरनेटमा रहेका सूचनालाई प्रयोग गर्न अनुसन्धानमा सहयोग पुऱ्याउन सक्छन् । जस्तैः पुस्तक,पत्रपत्रिका, प्रतिबेदन, इन्टरनेटमा रहेका सूचनालाई प्रयोग गर्न सकिन्छ ।

तथ्याङ्क व्यवस्थापनमा डिजिटल साधनको प्रयोग (Use of Digital Tool in Data Manaement)

तथ्याङ्क सङ्कलनदेखि भण्डारणसम्मको सम्पूर्ण प्रक्रियालाई तथ्याङ्क व्यवस्थापन भनिन्छ। तथ्याङ्क व्यवस्थापनमा प्रयोग गरिने डिजिटल साधनहरू गुगल फर्म, सामाजिक सञ्जाल तथा भिडियो सम्मेलन अनुप्रयोग हुन् ।

क. गुगल फर्म (Google Form)

यो अनलाइन सर्वेक्षणमा प्रयोग गुगल कम्पनीले विकास गरेको एक प्रोग्राम हो। जिमेल एकाउन्ट भएका सबैले निःशुल्क प्रयोग गर्न पाइन्छ। यो प्रोग्राम डेक्सटप, ल्यापटप, स्मार्ट फोन, आइप्याडलगायतका सबै डिजिटल डिभाइसमा चलाउन सकिन्छ । यसमा प्रश्नावली तयार गरी इमेल वा अन्य सञ्वार साधनमार्फत उत्तरदातासमक्ष पठाइन्छ । गुगल फर्म forms.google.com, Google Drive, Google Sheet आदिबाट निर्माण गर्न सकिन्छ ।

ख. सामाजिक सञ्जाल (Social Network)

हाल सामाजिक सञ्जाललाई सामाजिक तथ्याङ्क तथा सूचना सङ्कलनको स्रोत मानिन्छ । Facebook, Twitter, YouTube, Google, Instagram, Snapshot, Pinter set, Viber, Whatsapp, Imo Messenger, Tiktok आदि सामाजिक सञ्जालका माध्यमहरू हुन् । यस्ता मिडियामा आए‌को लाइक, सेयर, कमेन्ट, भ्युज आदिका आधारमा कसैको कामलाई मूल्याङ्कन गर्न सकिन्छ ।

ग. भिडियो सम्मेलन अनुप्रयोग (Video Conferencing Application)

खोज अनुसन्धानमा अन्तर्वार्ता लिन र लक्षित समूहमा छलफल गर्न यसको प्रयोग गर्न सकिन्छ । यसअन्तर्गत आजकल ZOOM, Microsoft Teams, Google Meet Cisco Webex आदि प्रयोग भइरहेका छन् । तथ्याक सङ्कलनदेखि भण्डारणसम्म यस्ता डिजिटल साधनको प्रयोग गर्न सकिन्छ ।