पाठ: ९ शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका (Method of Presentation of Verbal Information)

छोटो रूपको सूची (Abbreviation)

अनुसन्धानको प्रस्तावना, प्रतिवेदन तथा लेख रचनामा शब्दावलीहरू पटक पटक दोहोरिन्छन भने तिनीहरूको छोटो रूप प्रयोग गर्ने गरिन्छ । छोटो रूप प्रयोग गर्दा लेखको लम्बाइ छोटो हुन्छ । पाठकहरूलाई लेख रचनाको विषयवस्तु बुझ्न सजिलो हुन्छ । पहिलो पटक प्रयोग गर्दा पूरा रूप र त्यसको पछाडि कोष्ठकमा छोटो रूप राख्ने, जस्तैः लोक सेवा आयोग (लोसेआ), पाठ्यक्रम विकास केन्द्र (पाविके) आदि । त्यसपछि पूरा रूप नभई छोटो रूप मात्र प्रयोग गरिन्छ ।

प्रस्तुत गर्ने तरिका :

*     लामो खालका लेखरचनालाई छोटो रूपको छुट्टै सूची राख्ने,

*     तालिकाहरू र चित्रहरूका सूची अनुसन्धानमा छन् भने योभन्दा पछाडि छोटो रूपको सूची र छैनन् भने विषयसूची पछि राख्ने ।

*     वर्णानुक्रममा, छोटो रूप सँगसँगै पूरा रूपमा उल्लेख गर्ने,

*     अङ्ग्रेजी तथा नेपाली दुवै भाषामा छोटो रूप प्रयोग गरेको छ भने एउटा भाषाको सूची बनाइसकेपछि अर्कोको बनाउने । जस्तैः

IOM-Institute of Medicine

WHO-World Health Organization

त्रिविवि- त्रिभुवन विश्वविद्यालय

रापबो- राष्ट्रिय परीक्षा बोर्ड

प्राविधिक शब्दहरूको सूची (List of Technical/ Key Words)

यसलाई Glossary पनि भनिन्छ। अध्ययन प्रस्तावनामा प्रयोग गरिएका प्राविधिक शब्दहरूको परिभाषा उल्लेख गर्नुपर्छ ।

प्रस्तुत गर्ने तरिका :

*     प्राविधिक शब्दहरूको सूचीलाई साहित्यको पुनरावलोकनभित्र अथवा छोटो रूपको सूचीभन्दा

*     पछाडि अथवा सन्दर्भसूचीभन्दा पछाडि राख्ने,

*     शब्द राखेर त्यसको पछाडि परिभाषा राख्ने ।

जस्तै:

*     सामुदायिक विद्यालयः नेपालमा सरकारी सहयोग प्राप्त गर्ने गरी स्थापना भएका विद्यालयहरूलाई सामुदायिक विद्यालय भनिन्छ ।

*     संस्थागत विद्यालय: नेपालमा सरकारी सहयोग नलिने गरि कुनै संस्था वा बेक्तिले संचालन गरेका विध्यालायाहरुलाई संस्थागत विद्यालय भनिन्छ

*     प्रधानाध्यापकः विद्यालयको प्रशासन तथा व्यवस्थापन गर्न तोकिएको प्रमुख व्यक्तिलाई प्रधानाध्यापक भनिन्छ ।

पाद‌टिप्पणी तथा अन्त्य टिप्पणी (Footnote & Endnote)

क. पादटिप्पणीः कुनै विषयवस्तुबारे थप जानकारी दिन वा प्रतिलिपि अधिकारसम्बन्धी जानकारी दिन पृष्ठको तल (Bottom of the Page) दिइने विवरणलाई पादटिप्पणी भनिन्छ ।

प्रस्तुत गर्ने तरिका :

मूलपाठमा भएका शब्दको पछाडि Superscript मा अङ्क वा स‌ङ्केत दिइन्छ भने त्यही अङ्क वा स‌ङ्केत पृष्ठको तल स्वतः बस्छ र त्यसको पछाडि आवश्यक विवरण लेख्ने ।

जुन पृष्ठमा पादटिप्पणी गरिएको शब्द छ, त्यसको विवरण त्यही पृष्ठमा दिने ।

ख. अन्त्य टिप्पणीः विषयवस्तुबारे थप जानकारी दिन लेखरचना वा प्रस्तावना वा प्रतिवेदनको अन्तमा दिइने विवरणलाई अन्त्य टिप्पणी भनिन्छ ।

प्रस्तुत गर्ने तरिका :

मूलपाठमा भएका शब्दको पछाडि Superscript मा रोमन अङ्क (i, ii, ii) दिने र त्यही रोमन अङ्क लेखरचनाको सन्दर्भसूची पछि लेखी त्यसको पछाडि आवश्यक विवरण लेख्ने ।