पाठ १ अनुसन्धानको परिचय (Introduction to Research)

अनुसन्धानको अवधारणा (Concept of Research)

अनुसन्धान अङ्ग्रेजी शब्द Research को नेपाली रूपान्तरण हो । जुन अङ्ग्रेजी शब्दहरू 'Re' 'Search' मिलेर बनेको हो । 'Re' को अर्थ पुनः वा फेरि र 'Search' को अर्थ गहन खोज भन्ने हो । त्यसैले शाब्दिक रूपले हेर्दा अनुसन्धान भन्नाले भइरहेको घटना वा विषयवस्तुको पुनः अध्ययन गरी नयाँ ज्ञान निर्माण गर्नु हो ।

सामान्यतया कुनै पनि घटना, वस्तु वा व्यक्ति आदिको बारेमा वैज्ञानिक तरिकाले खोज गरी त्यस घटनाको कारण र प्रभाव पत्ता लगाउने कार्यलाई नै अनुसन्धान भनिन्छ । यसमा भइरहेको ज्ञानको परीक्षण र नवीन ज्ञान प्राप्त गर्न व्यवस्थित खोज गर्ने वा प्रमाणित गर्ने कार्य गरिन्छ। कुनै घटना, क्षेत्र, स्थान, मुद्दा, वा विषयवस्तुमा केन्द्रित रहेर तथ्याङ्‌क स‌ङ्कलन, व्यवस्थापन र विश्लेषण गरी निष्कर्ष निकाल्ने कार्य यसमा हुन्छ ।

अनुसन्धानका उद्देश्यहरू (Objectives of Research)

*     नयाँ नयाँ ज्ञान एवम् तथ्यहरू पत्ता लगाउनु ।

*     कुनै पनि घटना वा विषयवस्तुको विस्तृत अध्ययन र विश्लेषण गर्नु ।

*     कुनै पनि घटनाको कारण पहिचान गर्नु ।

*     भइरहेको सिद्धान्तहरूको परीक्षण गर्नु ।

*     विगत र वर्तमानलाई आधार बनाई भविष्यको पूर्वानुमान गर्नु ।

*     समस्या समाधानका उपायहरू पत्ता लगाउनु आदि ।

सामाजिक अनुसन्धान (Social Research)

समाज, सामाजिक घटना तथा अन्य सामाजिक विषयवस्तुहरूसँग सम्बन्धित अनुसन्धान सामाजिक अनुसन्धान हो । सामाजिक घटनाहरूलाई प्रभाव पार्ने तत्त्वहरूको कार्यकारण सम्बन्ध बुझ्नका लागि गरिने अनुसन्धान नै सामाजिक अनुसन्धान हो ।

सामाजिक अनुसन्धानको फाइदा/उपयोगिता (Advantages/Utility of Social Research)

*     सामाजिक घटना, सामाजिक प्रक्रिया, सामाजिक क्रियाकलाप तथा अन्य सामाजिक विषयवस्तुहरूको बारेमा ज्ञान दिन्छ ।

*     ज्ञानको दायरा वृद्धि गर्दछ ।

*     सामाजिक नियन्त्रण, प्रवृत्ति विश्लेषण र सामाजिक कल्याणमा सहयोग पुयाउँछ ।

*     सामाजिक समस्याहरू समाधान गर्न सहयोग गर्दछ ।

*     समाज उपयोगी र रुचिका वस्तु उत्पादन गर्न सहयोग गर्दछ ।

*     समाजको समग्र विकासमा योगदान दिन्छ ।

सामाजिक अनुसन्धानका प्रकारहरू (Types of Social Research)

1.       आधारभूत तथा विशुद्ध अनुसन्धान (Basic and Pure Research): यो यस्तो अनुसन्धान हो जुन कुनै विशेष घटना, अध्ययन वा प्रकृतिको नियमको बुझाइमा सुधार गर्न केन्द्रित हुन्छ ।

2.       व्यावहारिक अनुसन्धान (Applied Research): यो यस्तो अनुसन्धान हो जसले भइरहेको समस्याहरूको व्यावहारिक समाधान खोज्छ ।

3.       क्रियात्मक अनुसन्धान (Action Research): यो यस्तो अनुसन्धान हो जसले कुनै पनि कार्य गर्ने क्रममा देखा परेका समस्याहरू समाधानका उपायहरू खोज्छ ।

4.       अन्वेषणात्मक अनुसन्धान (Exploratory Research): यो यस्तो अनुसन्धान विधि हो जसते विगतमा गहन तरिकाले अध्ययन गर्न नसकेका अनुसन्धान प्रश्नहरूको अन्वेषण गर्दछ ।

5.       मूल्याङ्कनात्मक अनुसन्धान (Evaluative Research): यो यस्तो अनुसन्धान विधि हो जसले कुनै पनि विषय वा घटनाको मूल्याङ्कन गरी आवश्यक सुधार गर्न सहयोग गर्दछ ।

6.       वर्णनात्मक अनुसन्धान (Descriptive Research): यो यस्तो अनुसन्धान विधि हो जुन कुनै पनि जनसङ्ख्या वा अध्ययन गरिएका घटनाका विशेषताहरूको वर्णन गर्न प्रयोग गरिन्छ ।

7.       परिमाणात्मक अनुसन्धान (Quantitative Research): यो यस्तो अनुसन्धान विधि हो जुन तथ्याङ्कको सङ्कलन र विश्लेषणको परिणाममा केन्द्रित हुन्छ ।

8.       गुणात्मक अनुसन्धान (Qualitative Research): यो यस्तो अनुसन्धान विधि हो जसले कुनै पनि घटना वा विषयको गुणात्मक पक्षको गहिरो अध्ययन गर्दछ ।

सामाजिक अध्ययनका विधिहरू (Methods of Social Studies)

1.       छलफल विधि (Discussion Method): यस विधिमा शिक्षक विद्यार्थी वा विद्यार्थी विद्यार्थीबिच विचार आदानप्रदान गरी एक निष्कर्षमा पुगिन्छ । पहिले अध्ययन गरिएका विषयवस्तुका आधारमा नयाँ अवधारणा बनाउन, पुनरावलोकन गर्न आदिका लागि यो विधि उचित हुन्छ । यस विधिले अन्य जीवनोपयोगी सिप विकास गर्न पनि सहयोग गर्दछ ।

2.       प्रश्नोत्तर विधि (Question Answer Method): यस विधिमा अध्ययन गरिएका विषयवस्तुलाई पुनरावलोकन गर्न तथा अवधारणाहरू स्पष्ट पार्न शिक्षक विद्यार्थीबिच तथा विद्यार्थी विद्यार्थीविच प्रश्न सोध्ने र उत्तर दिने गरिन्छ । यस विधिले विद्यार्थीहरूको बुझाइको गहिराइ नाप्न सहयोग गर्दछ ।

3.       अवलोकन विधि (Observation Method): कुनै घटना, स्थान वा व्यवहारलाई हेरेर सिक्ने विधि अवलोकन विधि हो। यसले प्रयोगात्मक ज्ञान प्राप्त गर्न, घटना विश्लेषण गर्न, व्यवहार सिक्न सहयोग गर्दछ ।

4.       अन्तर्वार्ता विधि (Interview Method): विद्यार्थीहरूले शिक्षक बाहेक अन्य जानकार व्यक्तिसँग प्रश्नहरू सोधेर जानकारी वा सूचना सङ्कलन गर्ने तरिका हो । यो विधिले अध्ययनका लागि तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्दछ ।

5.       समस्या समाधान विधि (Problem Solving Method): यो विद्यार्थीलाई कुनै समस्या दिएर त्यसको समाधान खोज्न लगाउने विधि हो। यसमा पहिचान, कारणहरू र समाधानका उपायहरूको खोजी गरिन्छ । यसले विद्यार्थीहरूको ज्ञानको प्रयोग गराउँछ ।

6.       क्षेत्रभ्रमण विधि (Field Trip Method): कुनै भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, औद्योगिक वा पर्यटकीय क्षेत्रमा गएर त्यससम्बन्धी अध्ययन गर्ने विधिलाई क्षेत्रभ्रमण विधि भनिन्छ । पढेका विषयवस्तुलाई वास्तविक जीवनमा हेरेर बुझ्न सजिलो एवम् अविस्मरणीय बनाउन यस विधिले विद्यार्थीहरूलाई सहयोग गर्दछ ।

7.       परियोजना विधि (Project Method): आफै काम गरेर नै सिक्ने विधि परियोजना कार्य हो। यस विधिमा विद्यार्थीहरूलाई शिक्षकको सहयोगमा कुनै निश्चित शीर्षकमा निश्चित समयभित्र रहेर अध्ययन गरी सूचना सङ्कलन, विश्लेषण तथा निष्कर्ष निकाल्न प्रौलग्रहन गरिन्छ ।

8.       प्रदर्शन विधि (Demonstration Method): कुनै विशेष समुदाय वा जातिको पहिरन, सङ्गीत, नृत्य जस्ता सांस्कृतिक ढाँचा बुझाउन शिक्षकले आफै सो वस्तु वा घटनालाई प्रदर्शन गर्ने विधि हो ।

9.       घटना वा मामला अध्ययन विधि (Demonstration Method): सामाजिक एकाइहरू जस्तैः व्यक्ति, परिवार, समुदाय वा संस्थाको विगत, वर्तमान र भविष्यलाई ध्यान दिई विभिन्न पक्षहरूमा गरिने सूक्ष्म अध्ययन हो। यसबाट विद्यार्थीहरूलाई सामाजिक व्यक्तित्व, उसको जोवनी, लेख र यस्तै अन्य स्रोतहरूको सम्बन्धमा घटना अध्ययन गर्न लगाई अनुसन्धान सिपको विकास गराउन सकिन्छ ।

तथ्याङ्क र सूचनाको परिचय (Introduction to Data and Information)

क. तथ्याङ्क (Data): तथ्याङ्‌क भन्नाले अप्रशोधित तथ्य (Unprocessed fact) भन्ने बुझिन्छ। यसलाई कच्चा तथ्य (Raw fact) पनि भनिन्छ। यो सूचनाको एकाइ हो र यसकै समग्रताबाट सूचना निर्माण गरिन्छ। यो कुनै तथ्य वा शब्द, वाक्य चित्र, स‌ङ्केतको विवरण हो। यो परिमाणात्मक र गुणात्मक गरी २ प्रकारको हुन्छ ।

*     परिमाणात्मक तथ्याङ्क (Quantitative Data): कुनै परिमाण, रकम वा दायरा बुझाउने तथ्याङ्‌क हो। यसलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ। जस्तैः ५ के.जी. तौल, १०० रुपियाँ आदि ।

*     गुणात्मक तथ्याङ्क (Qualitative Data): यसले कुनै व्यक्ति, वस्तु, घटना आदिका गुणहरू वा विशेषताहरू दर्साउँछ । यसलाई स‌ङ्ख्यामा व्यक्त गर्न सकिंदैन। जस्तैः अग्लो, होचो, कालो, गारो, असल, खराब आदि ।

ख. सूचना (Information): सूचना भन्नाले प्रशोधित तथ्य (Processed fact) भन्ने बुझिन्छ। यो तथ्या‌ङ्कहरूको विश्लेषणबाट प्राप्त ज्ञान हो। यो तथ्यांकहरूको एकीकृत एवम् व्यवस्थित रूप हो। तथ्याङ्क र सूचना अन्तरसम्बन्धित हुन्छन् । प्रशोधित तथ्याङ्कबाट नै सूचना निर्माण हुन्छ। सूचनाको आधारभूत एकाइ नै तथ्याङ्क हो । तथ्याङ्कलाई विश्लेषण गरेपछि सूचना निर्माण हुन्छ।

तथ्या‌ङ्कका स्रोतहरू (Sources of Data)

 तथ्याङ्कका स्रोतहरू २ प्रकारका छन् :

1.       प्राथमिक स्रोत (Primary Source): कुनै व्यक्ति, सङ्घसंस्था वा निकायको प्रत्यक्ष संलग्नतामा उत्पादन गरिएको तथ्याङ्क प्राथमिक स्रोत हो । यस्तो स्रोतबाट प्राप्त तथ्या‌ङ्कहरू Firsthand Information मा आधारित हुन्छन् । यस्तो स्रोतबाट वास्तविक तथ्याड्क प्राप्त हुन्छ । सर्वेक्षण, अन्तर्वार्ता, क्षेत्रभ्रमण, अवलोकन आदिबाट सङ्कलन गरिएका तथ्याङ्क प्राथमिक स्रोत हुन् । प्राथमिक स्रोतबाट तथ्याङ्क सङ्कलन गर्दा बढी समय, परिश्रम र खर्च लाग्छ ।

2.       द्वितीय स्रोत (Secondary Source): अनुसन्धानकर्ता बाहेक अन्य कुनै व्यक्ति, सङ्घसंस्था वा निकायको प्रत्यक्ष संलग्नतामा उत्त्पादन नगरी अन्य स्रोतबाट लिइएको तथ्याङ्क नै द्वितीय स्रोत हो। यस्ता तथ्या‌ङ्कहरू Firsthand Information मा आधारित हुँदैनन् । यस्ता तथ्या‌ङ्क प्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन् । जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यम आदि तथ्याङ्कका द्वितीय स्रोतहरू हुन् ।

प्राथमिक तथ्याङ्क र द्वितीय तथ्या‌ङ्कबिचको अन्तरसम्बन्ध

 

एउटा अनुसन्धानकर्ता वा कुनै व्यक्ति वा संस्थाले तथ्याङ्क सङ्कलन गरेपछि त्यसलाई विश्लेषण प्रकाशन गर्छ भने त्यो अन्य व्यक्ति वा संस्थाहरूका लागि द्वितीय तथ्याङ्क बन्दछ । कुनै पनि अनुसन्धानकर्ता सबै तथ्याङ्क प्राथमिक स्रोतबाट मात्र सङ्कलन गर्न सक्दैन । तसर्थ अनुसन्धान कार्यमा दुवै प्रकारका तथ्याङ्कको उत्तिकै महत्त्व रहेको पाइन्छ ।